काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको मृत्यु र पीडाका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई समाधान खोज्ने दिशामा केन्द्रित हुन आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो समय विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र सत्ता र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित नहुने बताइन्। संसद्मा बोल्ने क्रममा उनले संसद् भवन आउँदै गर्दा एक आमाले आफूलाई सुनाएको पीडादायी सन्देश सुनाइन्। ‘तन जलेको कुरा मात्र सुनिन्छ, मन जलेको पीडा कसैले सुन्दैन। शरीर त पछि मात्र जल्छ, सबैभन्दा पहिले मन नै जल्छ,’ भन्ने ती आमाको भनाइ उद्धृत गर्दै उनले राज्यले नागरिकका बाहिरी मात्र होइन, भित्री पीडाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखिन्।
बास्कोटाले नागरिकको ज्यानको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी सरकारको मात्र नभई प्रतिपक्षसहित सबै जनप्रतिनिधिको साझा दायित्व भएको उल्लेख गरिन्। लोकतन्त्र सहमति, असहमति, सहभागिता र उत्तरदायित्वमा आधारित प्रणाली भएकाले सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले सरकारको आलोचना प्रतिशोधका लागि नभई सुधारका लागि हुनुपर्ने बताउँदै आवश्यक पर्दा सत्तापक्षकै सांसदले पनि सरकारलाई खबरदारी गर्नुपर्ने र सकारात्मक कामको खुलेर प्रशंसा गर्नुपर्ने धारणा व्यक्त गरिन्।
देशको वर्तमान अवस्थालाई लामो समयदेखि रिभर्स गियरमा अड्किएको सवारीसँग तुलना गर्दै उनले वर्षौँदेखि कमजोर बन्दै गएको राज्य संरचनालाई सुधार गर्न समय र धैर्यता आवश्यक पर्ने बताइन्। उनले सरकारले १०९ दिनको अवधिमा सुशासनको आधार निर्माण गर्ने प्रयास गरेको दाबी गर्दै वर्षौँदेखि थिलथिलो बनेको व्यवस्थालाई सबल बनाउन तत्काल परिणामको अपेक्षा गर्नु उचित नहुने उल्लेख गरिन्। सांसद बास्कोटाले नागरिकको मृत्युका घटनालाई राजनीतिक रंग दिनुभन्दा भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय खोज्नुपर्नेमा जोड दिँदै राज्य र समाज दुवैले नागरिकका मौन पीडा र अदृश्य संघर्षलाई बुझ्ने संवेदनशीलता विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।