काठमाडौँ । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ भने धेरै क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। उनले आज रातिदेखि वर्षा अझ तीव्र हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। विभागको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षा मापन भएको छ, जुन अति भारी वर्षाको श्रेणीमा पर्छ। त्यसपछि सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
काठमाडौं उपत्यकाको चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, सिन्धुलीमा ९३, झापामा ८४, चितवनमा ८४, नवलपुरमा ८५, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६९, सिन्धुपाल्चोकमा ६८, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सङ्खुवासभामा ५२, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। हाल काठमाडौँ, उदयपुर, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बाग्लुङ, पर्वतलगायत जिल्लामा वर्षा जारी छ भने अन्य धेरै जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षा गराउने प्रणाली अझ सक्रिय बनेको हो। मौसमविद्ले आज राति विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्। वर्षा गराउने प्रणाली रातिको समयमा अझ सक्रिय हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।