रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेपछि सम्भावित बाढी तथा सडक जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यावश्यक सूचनामार्फत यात्रु र सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै हालका लागि राजमार्गमा सवारी सञ्चालन स्थगित गरिएको जनाएको हो। प्रहरीका अनुसार सडकको अवस्था सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन गरिनेछ। प्रहरीले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न, आवश्यक सतर्कता अपनाउन तथा थप जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।