काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण गर्ने सशक्त संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०८२–८३ मा आयोगले गरेका प्रमुख काम, १६औँ आवधिक योजनाको कार्यान्वयन, मध्यकालीन खर्च संरचना तथा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाको प्रगतिबारे छलफल भएको थियो। बैठकमा उपाध्यक्ष भट्टले समितिबाट उठाइएका सबै विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ उपलब्ध गराउने जानकारी दिए। समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए। उनका अनुसार आयोगको भूमिका र कार्यक्षेत्रबारे अर्थ समितिसँग विस्तृत छलफल गर्ने तयारी भइरहेको छ। समितिबाट प्राप्त सुझावलाई आयोगले सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सुधारका लागि उपयोग गर्ने उनले उल्लेख गरे।
डा। भट्टले राष्ट्रिय योजना आयोगले हाल मुख्य रूपमा तीन क्षेत्रमा आफ्नो भूमिका निर्वाह गरिरहेको बताउँदै अनुसन्धानमा आधारित नीतिगत सुझाव प्रदान गर्ने संस्थाका रूपमा यसको क्षमता अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसका लागि विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उनले जानकारी दिए। उनले आयोगले नागरिक, विज्ञ तथा सरोकारवालासँगको संवादलाई पनि प्राथमिकतामा राखेको बताए। नीति निर्माण प्रक्रियामा व्यापक सहभागिता र अनुसन्धानमा आधारित सुझावले गुणस्तरीय तथा प्रभावकारी नीति बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ। उपाध्यक्ष भट्टले राष्ट्रिय योजना आयोग मुलुकको दीर्घकालीन विकासको मार्गचित्र तय गर्ने प्रमुख निकाय भएकाले यसको संस्थागत क्षमता, प्रभावकारिता र विश्वसनीयतालाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए।