जाजरकोट । लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटमा भूकम्पपीडितका लागि बनाइएको अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको भेरी नगरपालिका–२ राङ्सीकी ६० वर्षीया जयशिला शाहको टहरामाथि पहिरो खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार २०८० साल कार्तिक १७ गते गएको भूकम्पपछि बसोबासका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएकी शाह पहिरोमा परेकी हुन्। घटनामा शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापा भने सकुशल उद्धार भएका छन्। स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उनीहरूलाई समयमै बाहिर निकालिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।