काठमाडौँ । सुकुम्बासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विभिन्न सुकुम्बासी अधिकारकर्मी तथा सरोकारवाला समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीले विभिन्न समस्या र पीडा भोग्नुपरेको तथा विरोधमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको भन्दै त्यसको विरोध गरेका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले गरिब तथा भूमिहीन नागरिकमाथि राज्यले दमनकारी व्यवहार गरेको आरोप लगाए। उनले सुकुम्बासीका माग सम्बोधन नभए देशव्यापी आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए।
परिश्रमीले विगतका शासन व्यवस्थाभन्दा पनि अहिले सुकुम्बासीमाथि कडा व्यवहार भएको दाबी गर्दै अब लामो समयसम्म अन्याय सहेर नबस्ने बताए। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्नुका साथै सुकुम्बासीमाथिको अन्याय अन्त्य गर्न, जनताको आवाज दबाउन नपाइने, गरिबमाथिको विभेद रोक्न तथा सुकुम्बासीका अधिकार सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूले विभिन्न सन्देश लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।