काठमाडौँ । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यससँग सम्बन्धित सबै तथ्य बाहिर ल्याउन स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।
संगठनले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणअनुसार गणेश नेपालीले बिहीबार काठमाडौंस्थित एक सरकारी कार्यालय बाहिर आफ्नै शरीरमा आगो लगाएका कारण ज्यान गुमाएको उल्लेख गर्दै घटनाको वास्तविक कारण स्वतन्त्र अनुसन्धानबाट मात्रै स्पष्ट हुन सक्ने जनाएको छ।विज्ञप्तिअनुसार राहदानी बनाउन सम्बन्धित कार्यालय पुगेका गणेश नेपालीमाथि निषेधित क्षेत्रमा मोटरसाइकल पार्क गरेको भन्दै जरिवाना गरिएपछि विवाद भएको र त्यसक्रममा उनी गम्भीर मानसिक तनावमा पुगेको समाचार सार्वजनिक भएका छन्। यद्यपि घटनाका सम्पूर्ण परिस्थितिबारे तथ्यपरक निष्कर्ष स्वतन्त्र अनुसन्धानबाटै आउनुपर्ने संगठनको भनाइ छ।
सहयात्राले उक्त घटनाले राज्यसत्ताको प्रयोग, कानुनको समान कार्यान्वयन तथा नागरिकको सम्मान र अधिकारको संरक्षणबारे गम्भीर प्रश्न उठाएको जनाएको छ। संगठनका अनुसार गणेश नेपालीको मृत्यु न्याय, समानता र सार्वजनिक निकायको जवाफदेहितासँग जोडिएको संवेदनशील विषय भएकाले यसको निष्पक्ष छानबिन अपरिहार्य छ। संगठनले अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र गणेश नेपालीको घटनाको परिस्थिति फरक भए पनि दुवै घटनाले सार्वजनिक संस्थाको भूमिकाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।
विज्ञप्तिमा अनुसन्धानका क्रममा गणेश नेपालीमाथि कानुनअनुसार समान व्यवहार भएको थियो वा थिएन, तथा उनको जातीय पहिचानले घटनाको व्यवस्थापनमा कुनै प्रभाव पारेको थियो वा थिएन भन्ने विषय पनि निष्पक्ष रूपमा परीक्षण हुनुपर्ने उल्लेख गरिएको छ। यस्तै, सरकारी निकायको व्यवहारले कुनै नागरिकको मृत्युमा योगदान पुगेको देखिए त्यससम्बन्धी जिम्मेवारी पनि स्पष्ट हुनुपर्नेमा संगठनले जोड दिएको छ। न्यायको मापन मृत्युको कारणबाट मात्र नभई राज्यका निकायले नागरिकप्रति आफ्नो दायित्व कति जिम्मेवारीपूर्वक पूरा गरे भन्ने आधारमा पनि गरिनुपर्ने संगठनको धारणा छ।
सहयात्राले राजनीतिक वा संस्थागत प्रभावबाट मुक्त स्वतन्त्र अनुसन्धान समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा यस्ता घटना दोहोरिन नदिने नीतिगत र संस्थागत सुधार लागू गर्न सरकारसँग आग्रह गरेको छ। साथै, गणेश नेपालीका शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति, मनोसामाजिक परामर्श र दीर्घकालीन सहयोग उपलब्ध गराउन पनि संगठनले सरकारलाई अनुरोध गरेको छ। सार्वजनिक निकायसँग सम्बन्धित घटनामा नागरिकको ज्यान गुम्दा राज्यले पीडित परिवारप्रति संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने संगठनको भनाइ छ।