काठमाडौँ । तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्म निर्माण गरिएको २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि शनिबार दिउँसो ३ बजेदेखि लाइन सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ।
प्रसारण लाइन सञ्चालनका क्रममा देखिएका अवरोध समाधान गर्न मन्त्री श्रेष्ठ स्वयं स्थलगत रूपमा पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका थिए। त्यसपछि लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको मन्त्रालयले जनाएको छ। मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म विद्युत् आपूर्ति प्रणाली थप सुदृढ र भरपर्दो हुने अपेक्षा गरिएको छ। यसले बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या पनि उल्लेखनीय रूपमा घटाउने विश्वास गरिएको छ।
मन्त्री श्रेष्ठका अनुसार बर्खायाममा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् अब सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ। यसअघि कम क्षमतामा सञ्चालन गर्नुपर्ने पावरहाउसहरू पनि अब पूर्ण क्षमतामा सञ्चालनतर्फ अघि बढ्ने उनले बताए। मन्त्रालयले निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रसारण प्रणालीमा अझ प्रभावकारी रूपमा उपयोग हुने जनाएको छ। मन्त्री श्रेष्ठले यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धितर्फको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्। उक्त विद्युत् प्रवाह तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत सुरु गरिएको हो।