काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
गोडैता नगरपालिका–१० निवासी ४२ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो करिब २ः३० बजे आफ्नै घरबाट करिब २०० मिटर पूर्वतर्फ शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको तत्काल उद्धार गरी मलंगवा अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार परिवारका सदस्यले मण्डल लामो समयदेखि मानसिक समस्याबाट पीडित रहेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।