काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका २५ वर्षीय गणेश नेपालीको मृत्युले उनको पुर्खौली गाउँ शोकमा डुबेको छ। मुगुको सोरु गाउँपालिका–१ स्थित उनको घर अहिले सुनसान बनेको छ भने गाउँभर शोकको वातावरण छ।
सदरमुकाम गमगढीबाट करिब छ घण्टाको सडक यात्रापछि पुगिने उक्त गाउँमा गणेशको निधनको खबरले स्थानीय स्तब्ध बनेका छन्। रोजगारीको अभावका कारण परिवारसहित भक्तपुरमा बस्दै आएका गणेश राइड–सेयरिङ सेवामार्फत जीविकोपार्जन गर्दै आएका थिए। स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। उनले चलाउँदै आएको मोटरसाइकलसमेत भाडामा लिइएको बताउँदै यस्तो अवस्थामा परिवारलाई राज्यले आवश्यक सहयोग र संरक्षण गर्नुपर्ने बताए। अर्का स्थानीय सुरेश साहीले पनि परिवारको आयस्रोत अत्यन्त न्यून रहेको उल्लेख गर्दै थोरै भएको जग्गासमेत प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिए। उनले गणेशको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराएर राज्यले आफ्नो जिम्मेवारी पूरा गरेको अनुभूति दिलाउनुपर्ने माग गरे। स्थानीयका अनुसार गरिबी र आर्थिक अभावसँग संघर्ष गरिरहेका गणेशको दुःखद निधनले गाउँका सबैलाई मर्माहत बनाएको छ।
भक्तपुरमा डेरा गरी परिवारसँग बस्दै आएका गणेश राइड–सेयरिङ एपमार्फत राइडरका रूपमा काम गर्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार बिहीबार काठमाडौं महानगरपालिकाका प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाएपछि विवाद भएको थियो। त्यसपछि उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल लगिएको थियो। उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो। चिकित्सकहरूले उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली पठाउने तयारी गरे पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएपछि रिफर गर्न सम्भव नभएको बताएका थिए। त्यसको केही समयपछि उनको मृत्यु भएको थियो।