काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनाले समाज, राज्य र सामूहिक चेतनामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले गणेश नेपालीको मृत्यु केवल एउटा व्यक्तिगत घटना नभई समग्र समाजलाई आत्मसमीक्षा गर्न बाध्य बनाउने पीडादायी क्षण भएको उल्लेख गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै यो दुःखमा सबैको साथ आवश्यक रहेको बताएका छन्। थापाले यस घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन्। उनका अनुसार यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई मानवीय दृष्टिकोणबाट हेर्न आवश्यक छ।
उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा राज्य, राजनीतिक दल र समाजका सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राखेका छन्। थापाले विगत वा वर्तमानमा कसको गल्ती भन्ने बहसभन्दा पनि किन एउटा युवा यस्तो निराशाको अवस्थामा पुग्यो र आफ्ना आवाज सुनाउन आत्मदाहजस्तो चरम निर्णय लिन बाध्य भयो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए। राज्यका सेवा, संयन्त्र र संस्थाहरूले नागरिकलाई सुरक्षा, भरोसा र साथको अनुभूति गराउनुपर्ने भए पनि किन केही नागरिकले राज्यकै सामु आफूलाई असहाय महसुस गर्नुपरेको छ भन्ने विषयमा इमानदार समीक्षा आवश्यक रहेको उनको भनाइ छ। उनले भविष्यमा कुनै पनि नागरिकले यस्ता पीडादायी निर्णय लिन नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।