काठमाडौँ । निरन्तर वर्षापछि मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को माइखोला (राजदुवाली) क्षेत्रमा सडकको ठूलो भाग भासिएर बगेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। कमजोर भूबनोट र लगातारको वर्षाका कारण सडक क्षतिग्रस्त हुँदा पूर्वी पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने मुख्य मार्ग नै बन्द भएको हो।
सडक पूर्ण रूपमा भासिएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ तथा झापाबाट पहाडतर्फ चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बिहीबार बिहानदेखि रोकिएको छ। यसका कारण यात्रु, मालवाहक गाडी र एम्बुलेन्सहरू विभिन्न स्थानमा रोकिएका छन्। तराईबाट उकालो लागेका सवारी साधनहरू माइखोला बजार क्षेत्रमा रोकिएका छन् भने पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्ज्याङ आसपास रोकिएका छन्। सवारी सञ्चालन हुन नसकेपछि यात्रुहरू जोखिमपूर्ण बाटो पैदल पार गर्न बाध्य भएका छन्।
राजमार्ग बन्द हुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर लैजानुपर्ने बिरामीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। बाटो अवरुद्ध भएकाले केही बिरामीलाई हिलो र पहिरोयुक्त क्षेत्रमा स्ट्रेचरमार्फत ओसार्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तै, इलाम र पाँचथरका किसानले उत्पादन गरेका दूध, तरकारीलगायत छिट्टै बिग्रिने कृषि उपज बजारसम्म पुर्याउन नसक्दा लाखौँ रुपैयाँ बराबरको क्षति हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। सडक खुलाउन सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासनले स्काभेटर तथा प्राविधिक जनशक्ति परिचालन गरे पनि लगातारको वर्षाले मर्मत कार्यमा कठिनाइ भइरहेको छ। कार्यालयका अनुसार सडकको ठूलो भाग खोलातर्फ बगेकाले सामान्य मर्मतले मात्र समस्या समाधान हुने अवस्था छैन।
खोलाको किनारमा ग्याबियन पर्खाल निर्माण गरेपछि मात्र दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने बताइएको छ। मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्ने प्रयास भए पनि त्यसले पनि सहजता ल्याउन सकेको छैन। बेलासे–इलाम सडक प्रयोग गर्न खोजिए पनि मेची करिडोर अन्तर्गत पुवाखोलामा पुल नहुँदा साना तथा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्। बाढी र हिलोका कारण उक्त मार्गसमेत जोखिमपूर्ण बनेको छ। यसैबीच, स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट जिप र ट्याक्सी जस्ता साना सवारी साधनलाई सीमित रूपमा सञ्चालन गराइएको छ। तर, साँघुरो र हिलाम्मे ग्रामीण सडकका कारण यात्रा अझै जोखिमपूर्ण बनेको छ भने ठूला बस र मालवाहक सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहेको छ। यात्रुहरू गाडी परिवर्तन गर्दै वा पैदल हिँडेर गन्तव्यतर्फ जान बाध्य भइरहेका छन्।