काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति अवरुद्ध भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वैकल्पिक स्रोतमार्फत उपत्यकामा थप खानेपानी उपलब्ध गराउने तयारी अघि बढाएको छ।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरी क्षेत्रको वागमती नदीबाट थप पानी ल्याउने योजनालाई तीव्र रूपमा कार्यान्वयन गर्न लागिएको जानकारी दिए। उनका अनुसार मेलम्चीबाट दैनिक १८ देखि २० करोड लिटर पानी आपूर्ति रोकिएपछि केही वर्षअघि प्रस्ताव गरिएको शिवपुरी आयोजना पुनः प्राथमिकतामा राखिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै लामो समयदेखि रोकिएको योजना अब द्रुत गतिमा अघि बढाइने उनले बताए।
हाल वागमती नदीबाट दैनिक करिब २ करोड लिटर पानी वितरण भइरहेको छ। अब थप पाइपलाइन विस्तार गरेर आपूर्ति क्षमता वृद्धि गरिनेछ। यसका लागि पहिले जडान गरिएका दुईवटा १४ इन्चका पाइपसँगै २० इन्च व्यासको नयाँ पाइप जडान गर्ने काम सुरु भइसकेको छ। साहका अनुसार आयोजनाका लागि आवश्यक करिब २०० मिटर डक्टाइल आइरन ९डीआई० पाइप उपलब्ध भइसकेको छ भने बाँकी ५०० एमएमका एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिनेछ। केयुकेएलले आगामी तीन सातादेखि एक महिनाभित्र काम सम्पन्न गरी दैनिक थप ४ देखि ५ करोड लिटर पानी उपत्यकामा आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसबाट विशेषगरी चक्रपथभित्र मेलम्चीको पानी नपुगेर प्रभावित भएका क्षेत्रमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।