काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय महिला आयोगको कामकारबाही, उपलब्धि र आगामी योजनाबारे आयोगका पदाधिकारीसँग छलफल गरेको छ।
मंगलबार बसेको समितिको बैठकमा सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग संवैधानिक निकाय भएकाले यसको कार्य व्यक्तिमा होइन, संस्थागत प्रणालीमा आधारित हुनुपर्ने बताइन्। नेतृत्व परिवर्तन भए पनि आयोगको काम, नीति र जिम्मेवारीमा निरन्तरता कायम रहनुपर्ने उनको धारणा थियो। उनले विगतदेखि सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिँदै महिला तथा अन्य पीडितलाई न्याय दिलाउने दायित्व आयोगको भएको उल्लेख गरिन्। आयोगको भूमिका कुनै एक व्यक्तिको कार्यकालसँग सीमित नहुने भन्दै संस्थागत जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
सभापति अवस्थीले आगामी दिनमा आयोगले पीडितको गोपनीयता, निष्पक्षता र समावेशितालाई केन्द्रमा राखेर अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरिन्। साथै आयोगका गतिविधिलाई प्रभावकारी बनाउन समितिको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाइन्। बैठकमा सांसद रीमा विश्वकर्माले आयोगका गतिविधिलाई थप परिणाममुखी र अन्तरक्रियात्मक बनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले आयोग सिफारिस गर्ने भूमिकामै सीमित नभई कार्यान्वयन नभएका सिफारिसबारे सम्बन्धित निकायसँग स्पष्ट जवाफ माग्नुपर्ने धारणा राखिन्।
उनले आयोगले गरेका अध्ययन–अनुसन्धान, कार्यसम्पादनका सूचक, सार्वजनिक तथ्यांकको आधार, महिला हेल्पलाइन सञ्चालनको अवस्था तथा त्यसमा देखिएका चुनौतीबारे पनि विस्तृत जानकारी मागिन्। पछिल्लो समय महिला हिंसाका घटनामा आयोगले समयमै प्रभावकारी हस्तक्षेप गर्न नसकेको विषयमा पनि उनले प्रश्न उठाइन्। सांसद विश्वकर्माले आयोगका पदाधिकारी तथा कर्मचारीको शैक्षिक योग्यता, जनशक्ति अवस्था र समावेशिताबारे समेत स्पष्ट विवरण उपलब्ध गराउन आग्रह गरिन्। बैठकको अन्त्यमा सभापति अवस्थीले समितिको अर्को बैठक असार २५ गते बस्ने जानकारी दिँदै त्यस दिनसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन्।