काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार बर्डफ्लुको संक्रमण विभिन्न स्थानमा देखिएकाले संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न सबैलाई अनुरोध गरिएको छ। मन्त्रालयले कुखुरा तथा अन्य पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, साथै कतै मृत पन्छी फेला परेमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि आग्रह गरेको छ।
पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ। डा. अधिकारीका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसका कारण हुने संक्रामक रोग हो। संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सर्न सक्ने भए पनि मानिसबाट मानिसमा भने यो रोग सजिलै फैलिने सम्भावना कम हुन्छ।
मानिसमा कसरी सर्छ ?
संक्रमित पन्छी छोएमा वा समातेमा, त्यसको दिसा वा सिगानसँग सम्पर्कमा आएमा, पन्छी राखिएको स्थान सफा गर्दा वा संक्रमित तथा मरेको पन्छीको मासु प्रयोग गर्दा मानिसमा बर्डफ्लु सर्न सक्ने मन्त्रालयले जनाएको छ।
के–के देखिन्छन् लक्षण ?
बर्डफ्लु संक्रमित व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा पखाला लाग्नेजस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले आग्रह गरेको छ।