काडमाडौँ । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेरा भएको चारकोठे घरमा विद्युत् सर्ट भएपछि आगलागी भएको हो। आगलागीका कारण घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, लत्ताकपडा तथा अन्य घरायसी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रज्जन आवाले जानकारी दिए। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको थप विवरण संकलन भइरहेको छ।