काठमाडौँ । जुम्लाको हिमा गाउँपालिका–२ अन्तर्गत छोटा खर्क पाटनमा चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा चराइरहेका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
प्रहरीले चट्याङका कारण केही भेडा–बाख्रासमेत मरेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। तर, कति संख्यामा पशुचौपाया मरेका छन् भन्ने यकिन विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ। स्थानीय रंगबहादुर रोकायाले राति करिब ८ः३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। घटनाको थप अनुसन्धानका साथै क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।