काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगको सदस्यमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले अनुशासन आयोगमा पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी भने पुरानै टोलीलाई निरन्तरता दिएको छ। रास्वपाका सहमहामन्त्री हरि ढकालले पार्टी विधानअनुसार पहिलो केन्द्रीय समिति बैठकबाटै तीनवटै आयोग गठन हुनुपर्ने व्यवस्था रहेकाले आवश्यक निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार बैठकले हालै सम्पन्न पार्टीको महाधिवेशन सफल बनाउन योगदान पुर्याएका विभिन्न उपसमिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा अन्य सहयोगीप्रति आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ। यसैबीच, केन्द्रीय समितिले बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई प्रदान गरेको छ। सहमहामन्त्री निशा डाँगीले पार्टीमा रिक्त रहेका पदहरूमा आवश्यक मनोनयन गर्ने जिम्मेवारी सभापति लामिछानेलाई सुम्पिएको बताउँदै क्रमशः मनोनयन प्रक्रिया अघि बढाइने जानकारी दिइन्।