काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द भएका छन्।
मूल्य घटेसँगै पुरानो मौज्दातको इन्धन बिक्री गर्दा आर्थिक नोक्सानी हुने भन्दै धेरै निजी पम्प सञ्चालकले इन्धन बिक्री स्थगित गरेका हुन्। नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो। नयाँ मूल्य कार्यान्वयनसँगै अधिकांश निजी पम्प बन्द हुँदा इन्धन भर्न पुगेका सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। धेरै स्थानमा पम्प बन्द भएपछि इन्धन भर्न पुगेका सवारी चालक र उपभोक्ता निराश हुँदै फर्किएका छन्।