काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–७ की शशिका मल्ल केसी रहेकी छन्। उनी हाल मामा घरमा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो घर नजिकै खेलिरहेका बेला शशिका निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेकी थिइन्। केही समयपछि उनी डुबेको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बालिका खेल्ने क्रममा खाल्टोमा खसेको देखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।