काठमाडौँ। सिरहाको लहानमा बिक्रीका लागि राखिएको सिलबन्दी खानेपानीको बोतलभित्र छेपारो भेटिएपछि प्रशोधित पानी उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ।
इलाका प्रशासन कार्यालय लहानले ‘ऋषि जल’ ब्रान्डको प्रशोधित पानी उत्पादन गर्ने केभी एण्ड सन्स नेपाल कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गर्दै जरिबाना गरेको हो। प्रशासनका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्रीका लागि राखिएको उक्त कम्पनीको पानीको बोतलभित्र छेपारो देखिएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएको थियो। त्यसपछि निरीक्षण टोलीले तत्काल अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कम्पनीले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी लापरवाही गरेको तथा अनुचित व्यावसायिक गतिविधि गरेको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार उक्त कम्पनीको उत्पादनबारे अन्य गुनासासमेत प्राप्त भइरहेकाले कम्पनीका सञ्चालकलाई कार्यालयमा बोलाएर सचेत गराइएको छ। साथै, बजारमा वितरण गरिएका सोही खराब ब्याचका ‘ऋषि जल’का सबै पानीका बोतल तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ।
प्रशासनले भविष्यमा यस्ता लापरवाही दोहोरिए कानुनअनुसार अझ कडा कारबाही गरिने चेतावनी दिएको छ। पिउने पानीजस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित वस्तुको गुणस्तरमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने प्रशासनको भनाइ छ। साथै, उपभोक्तालाई खाद्य तथा पेय पदार्थ खरिद गर्दा गुणस्तर र अवस्थाबारे सावधानी अपनाउन तथा कुनै त्रुटि वा शंकास्पद अवस्था देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।