काठमाडौँ। गुणस्तर परीक्षणको नाममा भारतीय पक्षले लगाएको अवरोधका कारण करिब दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात फेरि सुचारु भएको छ।
नेपाल सरकारको कूटनीतिक पहल तथा भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले परीक्षण प्रक्रियामा लचकता अपनाएपछि काँकडभिट्टा नाकाबाट चिया भारततर्फ पठाउन थालिएको हो। निकासी अवरुद्ध हुँदा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। अहिले निर्यात खुल्न थालेपछि ती चिया क्रमशः भारतीय बजारमा पठाउने तयारी व्यवसायीहरूले गरेका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार सोमबार इलामबाट अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार प्रवेश गरेका छन्। लामो समयको अन्योल अन्त्य भएसँगै उद्योगीहरूले नयाँ खेप पनि निर्यात गर्न थालेका छन्। तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक तथा नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठले सरकारको पहलपछि भारतीय पक्षबाट सकारात्मक संकेत प्राप्त भएकाले निर्यात पुनः सुरु गरिएको बताए। उनका अनुसार मंगलबार मात्रै करिब ९ हजार किलो चिया बोकेको एक कन्टेनर भारत पठाइएको छ।
संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले पनि प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष पहलपछि समस्या समाधानतर्फ गएको बताए। उनले अहिले चिया भन्सार प्रक्रिया पूरा गरेर भारततर्फ सहज रूपमा जान थालेको जानकारी दिए। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले केही साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अन्तर–निकाय समिति गठन गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा रहेको उक्त समितिमा अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिसहित सम्बन्धित निकायका अधिकारीहरू सहभागी छन्। समितिले तत्कालीन तथा दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन तयार गरिरहेको छ।
व्यवसायीहरूका अनुसार भारतले निकासीमा लगाएको अवरोध पूर्ण रूपमा हटाएको भने छैन। नयाँ व्यवस्थाअनुसार अब सबै खेपको परीक्षण नगरी जोखिमका आधारमा नमुना छनोट गरेर मात्रै गुणस्तर परीक्षण गरिनेछ। भारतले जारी गरेको नयाँ मापदण्डअनुसार नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटाको मात्रै नमुना परीक्षण हुनेछ। यसअघि वैशाख १८ देखि प्रत्येक गाडीको अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था लागू गरिएको थियो, जसका कारण निर्यात लगभग ठप्प बनेको थियो।
निकासी अवरुद्ध हुँदा पहाडी क्षेत्रका ५६ र तराईका ३० चिया उद्योग प्रभावित भएका थिए भने किसान र व्यवसायी दुवैले ठूलो आर्थिक क्षति बेहोरेका थिए। त्यसपछि नेपाल सरकारले कूटनीतिक माध्यमबाट भारतीय पक्षसँग निरन्तर संवाद अघि बढाएको थियो। यद्यपि, पानीट्यांकी भन्सारमा गुणस्तर परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै पनि कोलकाता पठाउनुपर्ने अवस्था कायम छ। त्यसैले व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भइसकेका छैनन्।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार सोमबार दुई ट्रक चिया नेपाली भन्सार प्रक्रिया पूरा गरेर भारततर्फ पठाइएको थियो। तर भारतीय भन्सारले ती खेप अन्तिम रूपमा जाँचपास गरिसकेको वा नगरेकोबारे आधिकारिक जानकारी भने नेपाल पक्षलाई प्राप्त भइसकेको छैन। निकासी सहज हुन थालेसँगै भारतीय आयातकर्ताले नेपाली चियाप्रति पुनः चासो देखाउन थालेका छन्। व्यवसायीहरूका अनुसार भारतीय कम्पनीहरूले नयाँ अर्डर दिनुका साथै चियाको नमुना माग्न थालेका छन्। हाल पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको निर्यात पुनः सुरु भए पनि तराईमा उत्पादन हुने सिटिसी चियाको व्यापारिक सम्झौता भने अझै टुंगो लाग्न बाँकी छ। त्यसैले आगामी दिनमा नेपाली चिया निर्यातको अवस्था भारतीय निकायको व्यवहार र नीतिमा धेरै हदसम्म निर्भर रहने व्यवसायीहरूको अपेक्षा छ।