काठमाडौँ । भारतको उत्तर प्रदेश र मध्य प्रदेशका केही जिल्लामा फैलिएको बुन्देलखण्ड क्षेत्रमा चर्को गर्मी र पानीको अभावसँगै जातीय विभेदले दलित समुदायको दैनिकी थप कठिन बनाएको छ।
बुन्देलखण्ड लामो समयदेखि पानीको संकट झेल्दै आएको क्षेत्र हो। गर्मीयाममा यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ। पानीका सरकारी धारा लामो समयदेखि सुक्दा धेरै परिवार सीमित संख्यामा रहेका ह्यान्डपम्पमा निर्भर छन्। उत्तर प्रदेशको जालौन जिल्लाकी ४० वर्षीया ममता वाल्मीकि समुदायकी दलित महिला हुन्। उनका अनुसार ११ सदस्यीय परिवार र पशुचौपायाका लागि पानी जुटाउन उनी दिनमा आठदेखि १० पटकसम्म ह्यान्डपम्पसम्म पुग्छिन्। तर पानीको अभाव मात्रै उनको समस्या होइन। गाउँका उच्च जातिका मानिस ह्यान्डपम्पमा पानी भरिरहेका बेला आफूहरूले त्यहाँ जान नपाउने उनले बताइन्। उनीहरू गएपछि मात्र पानी भर्ने गरेको र कतिपयले दलितले पानी भरेपछि ह्यान्डपम्पमा पानी खन्याएर ‘शुद्ध’ बनाउने गरेको उनको दाबी छ। उनीहरू त्यहाँ उभिएका छन् भने हामी पानी भर्न सक्दैनौँ। उनीहरू गएपछि मात्रै हाम्रो पालो आउँछ,’ ममताले भनिन्। बुन्देलखण्डको भौगोलिक अवस्था, अनियमित वर्षा र बढ्दो तापक्रमका कारण पानीको संकट झन् गहिरिँदै गएको छ। एक शताब्दीभन्दा बढी समयका मौसमसम्बन्धी तथ्यांकको अध्ययनले पनि यस क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको देखाएको छ। पछिल्ला केही गर्मीयाममा बुन्देलखण्डका कतिपय स्थानको तापक्रम ४८ डिग्री सेल्सियसनजिक पुगेको छ।
स्थानीय बासिन्दा तथा अनुसन्धानकर्ताहरूका अनुसार पानीको अभाव बढ्दै जाँदा लामो समयदेखि कायम जातीय विभेद पनि अझ स्पष्ट रूपमा देखिन थालेको छ। पानीका सीमित स्रोतमा धेरै परिवार निर्भर हुँदा दलित समुदायले थप कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ छ। यद्यपि स्थानीय प्रशासनले भने सार्वजनिक पानीका स्रोतमा जातीय विभेद हुने गरेको आरोप अस्वीकार गरेको छ। स्थानीय उच्च जातिका बासिन्दाले पनि जातका आधारमा विभेद नगरेको दाबी गरेका छन्। उनीहरूले भने पानीका स्रोत सुक्दै गएपछि सबै समुदायबीच पानी भर्ने पालो र परिमाणलाई लिएर विवाद हुने गरेको बताएका छन्। तर दलित समुदायका बासिन्दाहरूको अनुभव फरक छ। उनीहरूका अनुसार ह्यान्डपम्पमा औपचारिक रूपमा कुनै लाइन नहुने भए पनि उच्च जातिका परिवारसँग विवाद नहोस् भनेर आफूहरू फरक समयमा पानी भर्न जाने गर्छन्। बुन्देलखण्डकै शाहजहाँपुरका शिवले पनि आफूहरूको समुदायका मानिस उच्च जातिका परिवारले पानी भरिरहेका बेला ह्यान्डपम्पमा जान नसक्ने बताए। ‘जति गर्मी भए पनि एक बाल्टिन पानीका लागि घण्टौँ कुर्नुपर्छ। हामीसँग अर्को विकल्प छैन,’ उनले भने। शिवकी आमा पार्मी देवीले तीन वर्षअघि ह्यान्डपम्पमा पानी भर्ने क्रममा उच्च जातिका एक व्यक्तिसँग विवाद भएपछि आफूलाई कुटपिट गरिएको आरोप लगाएकी छन्। उनले प्रहरीमा उजुरी दिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको बताइएको छ।
उत्तर प्रदेशमा जातीय विभेद तथा अत्याचारसम्बन्धी घटनाको अभिलेख राख्ने दलित डिग्निटी एन्ड जस्टिस सेन्टरका अनुसार सन् २०२५ मा उक्त क्षेत्रमा जातीय अत्याचारसम्बन्धी ११३ वटा मुद्दा दर्ता भएका थिए। संस्थाका अनुसार मे र जुनजस्ता अत्यधिक गर्मी हुने महिनामा उसले अभिलेख राखेका धेरैजसो उजुरी पानीसँग सम्बन्धित थिए। तर प्रशासनले भने क्षेत्रमा पानीको अभावसमेत नरहेको दाबी गर्दै केन्द्र सरकारको जल जीवन मिसनमार्फत ग्रामीण घरधुरीमा पाइपबाट खानेपानी पुर्याउने काम भइरहेको जनाएको छ। स्थानीय स्तरमा पोखरी पुनःस्थापना र भूमिगत पानी पुनर्भरणका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। अनुसन्धानकर्ता मुकुल शर्माका अनुसार पानीको आपूर्ति बढाउनु मात्रै समस्याको समाधान होइन। उनका अनुसार जलवायु परिवर्तनले यी विभेद सिर्जना गरेको होइन, तर यसले पहिलेदेखि रहेका असमानतालाई झन् गहिरो बनाइरहेको छ। अर्थात्, पानीको स्रोत थपिए पनि कसले र कसरी त्यसको प्रयोग गर्न पाउँछ भन्नेमा जातीय विभेद कायम रह्यो भने समस्या पूर्ण रूपमा समाधान नहुने अनुसन्धानकर्ताहरूको तर्क छ। गर्मी बढ्दै जाँदा ममता भने अझै त्यही ह्यान्डपम्पमा पुगिरहेकी छन्। चिसो मौसममा दिनमा केही पटक मात्रै पानी लिन जाने उनी गर्मीयाममा आठदेखि १० पटकसम्म त्यहाँ पुग्छिन्। ह्यान्डपम्पमा को उपस्थित छ भन्ने कुराले नै उनको पानी भर्ने समय निर्धारण गर्छ।