काठमाडौँ । परेवाहरूले घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने लामो समयदेखिको वैज्ञानिक रहस्यमा नयाँ अध्ययनले कलेजोसँग सम्बन्धित जैविक प्रणालीले पनि भूमिका खेल्न सक्ने संकेत गरेको छ ।
अनुसन्धानअनुसार परेवाहरूले केवल आकाशीय संकेत, भू–दृश्य वा पृथ्वीको चुम्बकीय क्षेत्र मात्र नभई शरीरभित्रको जैविक प्रक्रियालाई समेत दिशाबोधका लागि प्रयोग गर्ने सम्भावना देखिएको हो । जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको टोलीले गरेको अध्ययनमा कलेजोमा रहेका विशेष प्रतिरक्षा कोषिकाहरूले चुम्बकीय संवेदन प्रक्रियासँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ । अध्ययनका क्रममा रातो रक्तकोषिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियासँग जोडिएका ती कोषिकाहरू अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो दिशा पहिचान गर्ने क्षमता कमजोर भएको पाइएको उल्लेख गरिएको छ । वैज्ञानिकहरूले परेवाको चुम्बकीय कम्पास प्रणाली विशेषगरी बादल लागेको अवस्थामा बढी प्रभावित हुने बताउँदै उनीहरूले सूर्यलाई समेत वैकल्पिक संकेतका रूपमा प्रयोग गर्ने गरेको बताएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार कलेजोका ती कोषिकाहरू स्नायु प्रणालीसँग नजिक रहेकाले चुम्बकीय संकेत मस्तिष्कसम्म पुग्ने सम्भावना पनि देखिएको छ, जसले दिशाबोध प्रक्रियामा योगदान दिन सक्छ । अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका विज्ञ अल्बर्ट काओले यो अध्ययनलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण भएको प्रतिक्रिया दिएका छन् । यद्यपि विशेषज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाले चुम्बकीय संकेतलाई मस्तिष्कले कसरी व्याख्या गर्छ भन्ने विषयमा विस्तृत अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन् ।