काठमडौँ । कुनै समय बर्दियाका गाउँघरका बारीमा बोडी, काँक्रा, लौका, फार्सी र भिण्डीजस्ता रैथाने तरकारी लटरम्म फल्थे।
अहिले भने यस्ता स्थानीय जातका तरकारी क्रमशः हराउँदै जान थालेका छन्। बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको अनुभव पनि यस्तै छ। केही दशकअघिसम्म उनको बारीमा प्रशस्त फल्ने रैथाने तरकारी पछिल्ला वर्षमा उत्पादन हुन छाडेको छ। यस वर्ष मकैसँगै स्थानीय तरकारीको बीउ छरे पनि उत्पादन अपेक्षाअनुसार हुन नसकेको उनले बताइन्।
उनका अनुसार उम्रिएका बोटमा समेत राम्रो फल लागेन। कतिपय बोटमा फल कुहिने र कीरा लाग्ने समस्या देखियो। पहिले मकैबारीमै बोडी, काँक्रालगायतका तरकारी लगाउने चलन रहे पनि अहिले त्यस्तो दृश्य कम हुँदै गएको छ। जोधनीले यस वर्ष स्थानीय र उन्नत दुवै जातका काँक्रा लगाएकी थिइन्। दुवैको बीउ उम्रिए पनि रैथाने काँक्राले भने राम्रो उत्पादन दिन सकेन। यसको कारण जलवायु परिवर्तन वा उन्नत जातको प्रभावमध्ये के हो भन्ने आफूलाई यकिन नभएको उनको भनाइ छ।
मकैबारीमा मकैकै बोटलाई आधार बनाएर लहरा फैलाउन सकिने भएकाले पहिले छुट्टै संरचना बनाउनुपर्ने आवश्यकता पर्दैनथ्यो। त्यसैले गाउँका अधिकांश किसानले मकैसँगै बोडी र काँक्रा लगाउने गर्थे। अहिले भने बजारमा सहजै पाइने उन्नत बीउको प्रयोग बढेसँगै पुराना स्थानीय बीउ हराउँदै जान थालेका छन्। सोही गाउँकी दुसानी थारुका अनुसार छोटो समयमा धेरै उत्पादन हुने र बजारमा बिक्री गर्न सहज हुने भएकाले किसानको रोजाइ उन्नत जातका बीउतर्फ बढेको छ।
बढैयाताल गाउँपालिकाका कृषि विकास शाखा प्रमुख दीपेन्द्र श्रीवास्तवले पनि उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएको बताइन्। पालिकाले रैथाने बीउविजनको संरक्षण र उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आए पनि व्यावसायिक खेती गर्ने किसानको प्राथमिकता उन्नत जाततर्फ बढी देखिएको उनको भनाइ छ। पालिकाका केही किसानले भने अझै पनि पुस्तौँदेखि घरमै रैथाने बीउ संरक्षण गर्दै आएका छन्। तर तरकारी खेतीलाई व्यावसायिक बनाउँदै लगेपछि धेरै किसानले घरायसी उपभोगभन्दा बजारमा बिक्रीलाई प्राथमिकता दिन थालेका छन्। य