काठमाडौँ। मधेश प्रदेशको प्रमुख कृषि उत्पादन क्षेत्रमध्ये एक रौतहटमा यतिबेला किसानहरू धान रोपाइँको तयारीमा व्यस्त बनेका छन्। जेठ महिनाको अन्तिम चरणसम्म आइपुग्दा जिल्लाका अधिकांश किसानहरूले धानको बेर्ना तयार गरिसकेका छन् र पर्याप्त वर्षाको पर्खाइमा रहेका छन्।
मनसुन भित्रिने समय नजिकिएसँगै खेतबारीमा किसानहरूको गतिविधि बढ्न थालेको छ। गरुडा, गौर, चन्द्रपुर, कटहरिया, माधवनारायणलगायतका स्थानीय तहका किसानहरूले बर्खे धानका लागि जेठको सुरुतिर नै ब्याडमा बीउ राखेका थिए। अहिले ती बीउ रोपाइँका लागि तयार अवस्थामा पुगेका छन्। कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लामा स्वर्ण, सावा मन्सुली र राधा–४ लगायतका उन्नत तथा स्थानीय जातका धानको बेर्ना तयार गरिएको छ। किसानहरू अहिले खेत जोत्न, सम्याउन र रोपाइँको अन्तिम तयारीमा जुटेका छन्। तर पर्याप्त सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशे वर्षामै निर्भर छन्।
जिल्लाको उत्तरी भेगमा बागमती सिँचाइ आयोजनाको नहर र केही स्थानमा डिप बोरिङको सुविधा भए पनि मध्य तथा दक्षिणी क्षेत्रका किसानहरूका लागि वर्षा नै मुख्य आधार बनेको छ। वैकल्पिक रूपमा बोरिङ वा पम्पसेट प्रयोग गर्दा लागत अत्यधिक बढ्ने भएकाले धेरै किसानले त्यसको प्रयोग गर्न सकिरहेका छैनन्। माधवनारायण नगरपालिकाका किसान कृष्ण साहका अनुसार ब्याडमा राखिएको बेर्ना रोप्न तयार भइसकेको भए पनि पर्याप्त पानी नपर्दा खेतमा हिलो बनाउन समस्या भइरहेको छ। उनका अनुसार किसानहरू हरेक दिन मौसमको अवस्था नियाल्दै वर्षाको प्रतीक्षामा छन्।
यस वर्ष पनि किसानहरू रासायनिक मलको अभाव र कृषि मजदुरको कमीबाट चिन्तित छन्। समयमै डीएपी र युरिया मल उपलब्ध नहुँदा सीमावर्ती बजारबाट महँगो मूल्यमा मल खरिद गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। साथै, गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले रोपाइँका बेला आवश्यक मजदुर पाउन कठिन भइरहेको छ। रौतहटमा वार्षिक रूपमा करिब ३८ हजारदेखि ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। अघिल्ला वर्षहरूमा ढिलो मनसुन र खडेरीका कारण उत्पादनमा असर परेको थियो। यस वर्ष भने समयमै पर्याप्त वर्षा भए राम्रो उत्पादन हुने र राष्ट्रिय खाद्य सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।