काठमाडौँ । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ। रोजगार सेवा केन्द्र र जीविको इजिसिएटिभ्सको सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित कार्यक्रम गरिएको हो।
मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताको सहभागिता रहेको थियो। कार्यक्रमले युवालाई देशभित्रै रोजगारीका अवसर, सीप विकास र उद्यमशीलताबारे जानकारी दिने लक्ष्य राखेको छ। रोजगार सेवा केन्द्रका संयोजक लक्ष्मी कार्कीले मेलामार्फत आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी दुवै क्षेत्रमा सूचना र अवसर उपलब्ध गराउने उद्देश्य रहेको बताइन्। उनका अनुसार युवालाई रोजगारदाता संस्था र तालिम केन्द्रसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी सहारा फाउन्डेसनकी अध्यक्ष दिलमाया तामाङ रानाले आत्मनिर्भरता र व्यवहारिक सीपलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले संस्थाले निःशुल्क सीपमूलक तालिममार्फत युवालाई सक्षम बनाउने काम गरिरहेको उल्लेख गरिन्। उनका अनुसार अहिले संस्थाले विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै आएको छ र केही कार्यक्रम अनलाइनमार्फत पनि उपलब्ध छन्। उनले गुणस्तरीय उत्पादन र बजारसँगको पहुँच भएमा उद्यमशीलता सहज हुने धारणा राखिन्। आयोजकका अनुसार यो मेलाले युवालाई रोजगारी, सीप विकास र आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।