काठमाडौँ। स्याङ्जाको वालिङ नगरपालिका–७ मिर्दी–चापाकोट सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
शुक्रबार बिहान ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा।ए। ७९०५ नम्बरको जीप सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका वालिङ–७ का २५ वर्षीय राजेन्द्र विरकट्टाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३ जना गम्भीर, ९ जना मध्यम र बाँकी सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।