काठमाडौँ । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
सडक किनार तथा सार्वजनिक स्थानमा साना व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट हटाउने र धरपकड गर्ने कार्य बढेको भन्दै विरोध जनाएका हुन्। प्रदर्शनमा सहभागी रोजिता ऐरले राज्यले अपांगता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित व्यवस्था गर्नुपर्ने बताइन्। आफूहरूसँग क्षमता र सीप हुँदाहुँदै पनि अवसरको अभावका कारण सडकमा आएर जीविका चलाउन बाध्य भएको उनको भनाइ थियो।
उनले सरकारले आफ्ना समस्यालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै सम्मानजनक रोजगारीको व्यवस्था गरिदिन माग गरिन्। “हामी सडकमा बस्न चाहेर आएका होइनौं, बाध्यताले यहाँसम्म आइपुगेका हौं। राज्यले हाम्रो क्षमता उपयोग हुने वातावरण सिर्जना गर्नुपर्छ,” उनले भनिन्। ऐरले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि विभेदपूर्ण व्यवहार भइरहेको आरोप पनि लगाइन्।
सरकारी निकायका केही कर्मचारीबाट अपमानजनक व्यवहार, दुर्व्यवहार तथा जबरजस्ती हटाउने काम भइरहेको उनको गुनासो थियो। प्रदर्शनकारीहरूले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न, सम्मानजनक रोजगारीको व्यवस्था गर्न, सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन तथा मानवअधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सडक पेटीमा जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूमाथि हुने धरपकड र दुर्व्यवहार तत्काल बन्द गर्न समेत आग्रह गरेका छन्।