काठमाडौँ । रौतहटको गुजरा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाटोमा रहेको बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार चन्द्रपुर नगरपालिका–५ निवासी अन्दाजी २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि चपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार साँझ ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ कै अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर रूपमा घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र चपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिनगरबाट प्रहरी सहायक निरीक्षक रामेश्वर महतोको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।