काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आइतबार जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र तस्करीविरुद्ध प्रदर्शन गरेका छन्।
बिहान करिब ११:३० देखि दिउँसो १२ बजेसम्म भएको उक्त प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड र नाराबाजीमार्फत विरोध जनाएका थिए। कार्यक्रममा युवा अभियन्ता तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले पीडित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, साथै डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले ‘होप फर्टिलिटी’ लगायतका केन्द्रहरूमा संलग्न चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने पनि माग गरेका छन्। अभियन्ता किरण बिकका अनुसार पहुँच र शक्तिको दुरुपयोग गरी दोषीलाई जोगाउने प्रयास भइरहेको भन्दै सोहीविरुद्ध प्रदर्शन गरिएको हो। उनले आरोपितहरूविरुद्ध फौजदारी मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।