काठमाडौँ । बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संस्थापक देवी खड्काले द्वन्द्वकालीन यौन हिंसाबाट प्रभावित महिलाहरूले अझै पनि मानसिक आघातको बोझ बोकिरहेको बताएकी छन्।
शुक्रबार द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि मनाइने अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मबल र आत्मविश्वासमा सुधार आएको भए पनि विगतको पीडाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गरिन्। उनका अनुसार समयसँगै धेरै महिलाहरूको जीवनमा स्थायित्व आएको छ, तर द्वन्द्वकालीन हिंसाले छोडेको मानसिक असर अझै कायम छ। उनले ट्रमासँग जुध्दै जीवनलाई अगाडि बढाउने प्रयास जारी रहेको बताइन्। खड्काले पीडितहरूको अधिकार, स्वास्थ्य सेवा र न्यायका सवालमा केही प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखिन्।
इतिहासका पीडादायी अध्यायहरूलाई सम्बोधन गर्दै सुधारका प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो। उनले विगतमा करिब तीन सय यौन हिंसापीडित महिलाको उपचारका लागि विशेष स्वास्थ्य सहायता कार्यक्रम अघि बढाइएको स्मरण गराउँदै त्यसका लागि वितरण गरिएका परिचयपत्रमार्फत धेरै महिलाहरूले अहिले पनि सरकारी अस्पतालबाट उपचार सेवा लिइरहेको जानकारी दिइन्। उनका अनुसार कानुनी र प्रशासनिक प्रक्रियामा केही कमजोरी भए पनि उक्त पहलले धेरै पीडितको जीवन बचाउन र स्वास्थ्य सेवा पहुँचमा सहयोग पुर्याएको छ।