काठमाडौँ। काभ्रेको बनेपाबाट महाभारततर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुबाहक बस काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ अन्तर्गत सेल्फी डाँडामा दुर्घटनामा परेको छ।
केहीबेरअघि भएको दुर्घटनामा बस सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनामा मानवीय क्षति भएको आशंका गरिए पनि मृतक तथा घाइतेको यकिन विवरण सार्वजनिक हुन बाँकी छ। दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य सुरु गरेका छन् भने प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलतर्फ परिचालन भएको बताइएको छ। घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने काम भइरहेको छ। बसमा कति यात्रु सवार थिए भन्ने विवरण अझै खुलेको छैन। दुर्घटनाको कारण पनि तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र मृतक तथा घाइतेको संख्या आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको छ।