काठमाडौँ। रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो। प्रहरीका अनुसार पिकअप गाडी सडकबाट अनियन्त्रित भई करिब ४ सयदेखि ५ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे जानकारी बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। दुर्घटनाको कारण तथा मृतकहरूको पहिचानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।