काठमाडौँ। सर्लाहीको बागमती नगरपालिका–८ स्थित गान्धीचोक क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा मंगलबार स्थानीय ३० वर्षीय अरुण लामाको घरमा खानतलासी गरेको थियो । प्रहरीको उक्त कारबाहीका क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी, प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७७० र भारतीय रुपैयाँ ९०० समेत फेला पारेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।