काठमाडौँ । बाजुराको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार वडा नम्बर–१ पाटाका ६० वर्षीय मानबहादुर दानी वनमा घाँस काट्ने क्रममा भीरबाट लडेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यसैगरी वडा नम्बर–६ कोर्धकी ६ वर्षीया जसना खड्का पनि आमासँग वनमा घाँस काट्न गएका बेला चिप्लिएर भीरबाट खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यता, बडी मालिका नगरपालिका–२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।