काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा सम्पन्न गरेको छ। परीक्षा आज बिहान ८ बजेदेखि १० बजेसम्म ८३ वटा केन्द्रमा सञ्चालन भएको थियो।
महानगरका अनुसार अनलाइनमार्फत प्राप्त २६ हजार ८८८ आवेदनमध्ये २६ हजार ६०३ आवेदन स्वीकृत भएका थिए। स्वीकृत आवेदकमध्ये २२ हजार १६ विद्यार्थी, अर्थात् करिब ८२।७६ प्रतिशत, परीक्षामा सहभागी भएको जनाइएको छ। छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालका अनुसार परीक्षा स्वच्छ र व्यवस्थित वातावरणमा सम्पन्न भएको हो। उनका अनुसार उत्तरपुस्तिका ओएमआर विधिबाट परीक्षण गरिनेछ र २४ घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रारम्भिक नतिजाप्रति असन्तुष्टि भएमा दुई दिनसम्म पुनर्योगको समय दिइनेछ। त्यसपछि अन्तिम योग्यता क्रम प्रकाशित गरी पहिलो चरणको मनोनयन प्रक्रिया अघि बढाइनेछ। विभागका अनुसार यस वर्ष करिब १४५ विद्यालयमा झण्डै ५ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको छ।