काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको करिब २८.५ प्रतिशत मात्र रहेको जानकारी दिए। उनका अनुसार विगतमा जीडीपीको अनुपात ३० प्रतिशतभन्दा माथि जाने प्रवृत्ति रहे पनि यस पटक राज्यको कार्यान्वयन क्षमता अनुसार बजेटको आकार निर्धारण गरिएको हो। अर्थमन्त्री वाग्लेले वास्तविक जीडीपीको आकार आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले त्यसको मूल्यांकन मध्यावधि समीक्षामा गरिने बताए। उनले बजेट निर्माण गर्दा स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको उल्लेख गर्दै बजेटलाई सन्तुलित दायरामा राखिएको स्पष्ट पारे।