काठमाडौँ । डडेल्धुरामा सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्। परशुराम नगरपालिका–५ स्थित क्षेत्रबाट सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन छन्। उनीहरू मामाभान्जा नाता पर्ने रहेको प्रहरीले जनाएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीमा बगेर बेपत्ता भएको हुन सक्ने आशंकामा खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्। हाल घटनाबारे थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।