काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेशका राजनीतिक नेताहरूले गणतन्त्रको उपलब्धि, नागरिक अधिकार, विकास र सुशासनका विषयमा आ–आफ्ना धारणा राखेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्रलाई केवल राजनीतिक परिवर्तनको रूपमा मात्र नभई नागरिकको अधिकार, सम्मान र सुरक्षित भविष्य सुनिश्चित गर्ने व्यवस्थाका रूपमा स्थापित गर्नुपर्ने बताए । उनले प्रदेश सरकार जनताको अधिकार संरक्षण गर्दै समृद्ध नेपाल निर्माणको लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे । त्यस्तै, पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गणतन्त्र नागरिकलाई आधारभूत आवश्यकता उपलब्ध गराउने माध्यम बन्नुपर्ने धारणा राखे । उनले नागरिकलाई गाँस, बास र सम्मानजनक जीवन दिन राज्य जिम्मेवार हुनुपर्ने बताए ।
रावलले वर्तमान सरकारले नागरिकका अधिकार कमजोर बनाउने काम गरिरहेको आरोप पनि लगाए । जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । यसैगरी, नेकपा संसदीय दलका नेता खगराज भट्टले जनताले अपेक्षा गरेको सुशासन र समृद्धि हासिल हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको बताए । उनले गणतन्त्र र संघीयताका लागि संघर्ष गर्नेहरूकै लागि अहिले चुनौतीपूर्ण समय रहेको उल्लेख गर्दै जनताको पक्षमा इमानदारीपूर्वक उभिनुपर्नेमा जोड दिए ।