काठमाडौँ । पीडित आरती रावलले न्यायाधीश भुवन गिरीलाई पुनर्वहाली गरिएको विरोध गर्दै आमरण अनसन बस्ने घोषणा गरेकी छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले दार्चुला जिल्ला अदालतका न्यायाधीश गिरीलाई तत्काल निलम्बन गर्न माग गरिन्।
रावलले गिरीविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा महान्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा नचल्ने निर्णय गराएर पुनर्वहाली गरिएको आरोप लगाएकी छन्। उनले आफूले अझै न्याय नपाएको अवस्थामा शक्ति र पहुँचको आधारमा गिरीलाई पुनः न्यायाधीश बनाइनु कानुनी शासनमाथिको प्रहार भएको बताइन्। रावलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले नैतिक र कानुनी आधारमा पनि गिरीलाई तत्काल निलम्बन गर्नुपर्ने जिकिर गरिन्। अदालतप्रति जनविश्वास कमजोर बन्दै गएको उल्लेख गर्दै उनले न्यायालयले निष्पक्ष रूपमा आफ्नो मुद्दाको सुनुवाइ गर्नुपर्ने मागसमेत गरेकी छन्।