काठमाडौँ । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८२ मा कुल विद्यार्थीमध्ये ६२.२ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने ३७.८ प्रतिशत विद्यार्थी संस्थागत (निजी) विद्यालयमा अध्ययन गरिरहेका छन्। विद्यालय तहमा विद्यार्थी संख्या पनि केही बढेको छ। शैक्षिक सत्र २०८१ मा ७० लाख १० हजारभन्दा बढी विद्यार्थी रहेकोमा २०८२ मा यो संख्या बढेर ७० लाख ४० हजारभन्दा बढी पुगेको छ।
सर्वेक्षणले विद्यालय तहमा छात्रको संख्या छात्राभन्दा बढी रहेको देखाएको छ। कुल विद्यार्थीमध्ये ५२.५ प्रतिशत छात्र र ४७.५ प्रतिशत छात्रा रहेका छन्।आर्थिक सर्वेक्षणमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र शैक्षिक गुणस्तर सुधारका प्रयासले सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको उल्लेख गरिएको छ। विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयमध्ये रूपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालय पहिलो स्थानमा रहेको छ, जहाँ ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। त्यसपछि शान्ति नमुना मावि, जनता नमुना मावि, कान्ति मावि लगायतका विद्यालयमा पनि हजारौं विद्यार्थी अध्ययन गरिरहेका छन्।