काठमाडौँ । महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार ५६ यात्रुमध्ये ३८ जना घाइते भएका हुन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।