काठमाडौँ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग (अर्बन रोड) कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा आइतबार भएको प्रदर्शनमा सहभागीहरूले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको र्याली मेन रोडका विभिन्न भाग परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो । संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियार ले यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट त्रिभुवन राजपथलाई मेन रोडको रेखांकनबाट हटाइसकिएको दाबी गर्दै सरकारको आधिकारिक अभिलेख र ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन भइसकेको बताए ।
उनले अब मेन रोडलाई औपचारिक रूपमा सहरी मार्ग घोषणा गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । प्रदर्शनमा सहभागी स्थानीय तथा व्यवसायीहरूले मेन रोडलाई सहरी मार्ग कायम गरिएमा यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र सहरी सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् । लामो समयदेखि अन्योलमा रहेको यो विषयलाई सरकारले चाँडै सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।