काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार १० गतेभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको छ र कर्मचारीहरूलाई आवश्यक रूपमा परिचालन गरिएको छ । बोर्डकी सहसचिव तथा प्रवक्ता जयन्ती सत्यालका अनुसार प्राविधिक समस्या नआए असार १० देखि १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न निर्देशन दिएको छ । सोहीअनुसार काम अघि बढाइएको बोर्डले जनाएको छ । यसअघि एसईई नतिजा वैशाख २८ गते प्रकाशित भइसकेको छ, जसमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्ष कक्षा १२ को नतिजा करिब तीन महिनापछि प्रकाशित भएको थियो भने यस वर्ष जेठमै नतिजा आउने अपेक्षा गरिएको छ । यस वर्ष कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।