काठमाडौँ । देशभर हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्याङ्कले देखाएको छ ।
नेपाल प्रहरीका अनुसार गत वैशाख महिनामा देशभर भएका दुई हजार २९४ सवारी दुर्घटनामध्ये एक हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका हुन् । त्यस्तै चालकको असावधानीका कारण १३७, हतारमा बाटो काट्दा १३३, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११२ तथा अनावश्यक ओभरटेकका कारण ४६ दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा २३९ जनाको मृत्यु भएको छ । जसमध्ये १५८ पुरुष, ५४ महिला र २७ बालबालिका रहेका छन् । साथै ७५२ जना गम्भीर र तीन हजार २२० जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३७ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ । यसबाट ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाएको छ । उक्त अवधिमा भएका दुर्घटनामा तीन हजार ३३४ सवारी साधन संलग्न रहेका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । समयका हिसाबले साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै ९४ जना घाइते भएको प्रहरीले जनाएको छ ।