काठमाडौँ । भारतको दिल्लीबाट चोरी गरी नेपाल भित्र्याइएको हिरा, मोती, सुनचाँदीका गरगहना र नगदसहित करिब दुई करोड रुपैयाँभन्दा बढीको सम्पत्ति सुदूरपश्चिम प्रदेश प्रहरीले बरामद गरेको छ ।
तीन महिना अघि दिल्लीको राजेन्द्रनगरस्थित एक घरबाट करोडौं मूल्य बराबरको धनसम्पत्ति चोरी गरी नेपाल ल्याइएको घटनामा संलग्न समूह फरार रहेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले बाजुरा र अछामका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावत, खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेका छन् । उनीहरूले चोरीका गरगहना विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बरामद सम्पत्तिमा सुन, चाँदीका गरगहना, हिरा, मोती, विभिन्न ब्रान्डका घडी तथा नेपाली र विदेशी मुद्रा समेत समावेश छन् । प्रहरीका अनुसार मुख्य आरोपी अझै फरार छन् र उनको खोजी कार्य जारी रहेको छ । पक्राउ परेकाहरूबाट बरामद सम्पत्ति सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।