काठमाडौँ । सर्लाही, रौतहट, सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । उनीहरूको खोजीलाई लिएर स्थानीय प्रशासनबीच समन्वय अभाव देखिएको छ ।
शनिबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतो र वडा नं. ९ का १८ वर्षीय रोहित महतो बागमती नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीहरू मकवानपुरतर्फको पुल क्षेत्रबाट सिन्धुली हुँदै सर्लाही आउने क्रममा नदी तर्ने प्रयास गर्दा डुबेको बताइएको छ । अन्य तीन जना युवाहरू पौडी खेलेर सुरक्षित रूपमा निस्कन सफल भए पनि दुई जना बेपत्ता भएका हुन् । स्थानीयका अनुसार यस क्षेत्रमा नुहाउने र पौडी खेल्ने क्रममा बारम्बार दुर्घटना हुँदै आएको छ ।
बेपत्ता भएकाहरूको खोजीका लागि सर्लाही, रौतहट र अन्य जिल्लाका प्रहरी परिचालन भए पनि गोताखोरसहितको प्रभावकारी खोजी अझै सुरु नभएको गुनासो गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विभिन्न युनिटले खोजी कार्य जारी राखेका छन् भने सर्लाही प्रहरीले पनि इलाका प्रहरी कार्यालय बागमतीमार्फत खोजी भइरहेको जनाएको छ । यता, स्थानीय प्रशासनबीच स्पष्ट समन्वय नहुँदा खोजी कार्य प्रभावकारी हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।