काठमाडौँ । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।
मृतक भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्ला, नौगढ गाउँ जगदीशपुरका २२ वर्षीय सौरव रस्तौगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार उनी बुधबार साँझ करिब ६ः३० बजे साथीहरूसँग पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए। खोजी कार्यका क्रममा शुक्रबार बिहान उनको शव घटनास्थलबाट करिब ५० मिटर तल ढुंगाको खोँचमा अड्किएको अवस्थामा भेटिएको हो। नेपाल घुम्न आएका रस्तौगी तिनाउ खोलाको ड्याम क्षेत्रमा पौडी खेलिरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।