काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ अन्तर्गत पर्ने हुँगा खोलामा एक अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहीबार दिउँसो प्रहरी चौकी पावैबाट खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा खोलामा ढुङ्गाबीच अड्किएको अवस्थामा शव देखेको हो।
प्रहरीले जनाएअनुसार शवको एउटा हात र एउटा खुट्टा मात्र बाहिर देखिने अवस्थामा रहेको थियो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतक करिब ५ फिट ८ इन्च उचाइका मंगोलियन वर्णका पुरुष हुन्। उक्त व्यक्तिको पहिचानबारे कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर ९८५२८९०१९९ मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।